दैलेख: प्रारम्भिक सिकाई तथा विकास मापदण्ड बमोजिम सिकाई तथा विकास स्तर मापन र सुधारात्मक सिकाई सहयोग सम्बन्धी कस्टमाइज तालिम दैलेख सदरमुकाममा सुरु भएको छ । कक्षा १ मा अध्यापन गर्ने शिक्षकहरूका लागि तालिमका लागि ४ दिने तालिम सुरु भएको हो ।
तालिम उद्घाटनमा बोल्दै नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले बालबालिकाको सिकाइसँगै शारीरिक र मानसिक विकासको पनि मूल्याङ्कन गर्नुपर्ने वताए । बालबालिकाको मानसिक र शारीरिक विकासका लागि पोषण, सरसफाई लगायतका विषयमा पनि ध्यान दिनुपर्ने शर्माले वताए ।
‘सिकाईका लागि शैक्षिक सामग्रीको तयार गरी प्रयोगात्मक ढंगबाट गर्नुपर्छ । परम्परागत किसिमले पठनपाठन गर्दा सिकाई उपलब्धि हुँदैन ।’ नगरप्रमुख शर्माले भने, ‘शिक्षकले मात्रै तालिम लिएर उद्देश्य हासिल नहुने भएकाले अभिभावकलाई पनि तालिम दिने योजना नगरपालिकाले बनाएको छ ।’
सकेसम्म २÷२ महिनाको फरकमा तालिम संचालन गर्ने योजना बनाएको भन्दै नगरप्रमुख शर्माले नगरपालिका भरिका विद्यालयको अनुगमन समेत गरिने बताए ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत निरक बहादुर रावलले बिगतमा पनि तालिम लिएको र बिगतका तालिमबाट पनि सिकाई भएको बताए । रावलले जग बलियो भयो भने घर बलियो हुने भन्दै यहाँ सिकेका कुराहरूलाई विद्यालयमा लागू गर्न शिक्षकहरुलाई आग्रह गरे । उनले कक्षा १ मा सिकेका कुराले नै आगामी कक्षामा सहयोग हुने बताए ।
तालिमका सहभागी शिक्षकहरु धनबहादुर गुरुङ र कमला कुमारी तिवारीले बिगतमा लिएको तालिमबाट बालबालिकालाई सिकाईमा सहयोग भएको बताए । उनीहरुले बालबालिकाको सिकाईका लागि शिक्षक मात्रै नभई अभिभावकको समेत सहयोग आबश्यक रहेको बताए । तालिम पश्चात अझ सहयोग हुने अपेक्षा रहेको बताए ।
दैलेख सदरमुकाममा सुरु भएको चार दिने तालिमको उद्घाटन समारोहको समापन गर्दै सेतो गुराँस बाल विकास सेवा दैलेखका कोषाध्यक्ष गंगाराम रोकायले आम सरोकारवालाको ध्यान ठूलो कक्षामा मात्रै हुने भएकाले प्रारम्भिक बाल कक्षामा ध्यान दिन अनुरोध गरे । तालिममा नारायण नगरपालिकाभरिका २० जना शिक्षकको सहभागीता रहेको छ । तालिम फागुन ४ गतेसम्म संचालन हुने जनाईएको छ ।











